के हो बच्चामा हुने लिम्फोमा ? बच्चामा लिम्फोमा भएको कसरी थाँहा पाउँने ?

लिम्फोमाका बारेमा अझै पनि धेरै मानिस अनविज्ञ रहेको पाइन्छ । पछिल्लो समय बच्चाहरुमा लिम्फोमा रोग बढी देखिन थालेको छ । लिम्फोमा गम्भीर प्रकृतिको रोग भएकाले पनि यसको बारेमा जानकार हुनु आवश्यक छ । के हो लिम्फोमा ? बच्चामा यो कसरी लाग्छ ? लक्षण के कस्ता देखापर्छन् ? र बच्न के कस्तो सावधानी अपनाउने ? अंकुरण खबरका लागि बाल रोग,बाल क्यान्सर तथा रक्त रोग विशेषज्ञ डा.प्रकाशनीधि तिवारीसंग गरिएको कुराकानीमा आधारित अंश…

लिम्फोमा भनेको के हो ?
लिम्फोमा भनेको एक प्रकारको क्यन्सर हो । विशेष गरेर Epstein Barr Virusको संक्रमणबाट ग्रन्थीमा हुने एक प्रकारको क्यान्सरलाई नै लिम्फोमा भनिन्छ ।
बच्चाहरुमा पनि लिम्फोमा देखिने गरेको पाइन्छ । रोगप्रतिरोधात्मक क्षमता कम भएका विशेषतः ४ वर्षदेखि १२ वर्षका बच्चाहरुमा लिम्फोमा बढी देखिने गरेको पाइन्छ ।
सामान्यतया हजकिन र नन्हजकिन गरि लिम्फोमा २ प्रकारको हुन्छ

लिम्फोमा हुने कारण :
लिम्फोमा यही कारणले हुन्छ भन्ने भन्दा पनि जसमा रोगप्रतिरोधात्मक क्षमता कम छ, उसमा यसको संक्रमण हुने संभावना बढी हुन्छ । त्यस पछि वंशाणुगत गुण, एचआइभी एडसको संक्रमण ,गर्भावस्थामा विभिन्न पोषण तत्वको कमी लगाएतका कारणले हुनसक्छ । यसको अलाबा कहिले काँहि कुनै कारण नै थाँहा नहुदै पनि यो देखा पर्न सक्छ ।

लिम्फोमाका लक्षणहरु  :

पटक पटक ज्वरो आउने ।
ज्वरो आए पछि औषधि सेवन गर्दा पनि छिट्टै निको नहुने ।
एक्कासी तौल घट्ने ।
खलखली पसिना आउने ।
शरीरका विभिन्न भागमा गिर्खाहरु आउने ।
खाना अरुची हुने ।
नशाहरु सुन्निने ।

ठुलो मानिसको तुलानामा बच्चामा क्यान्सर लाग्यो भने धेरै छोटो निको हुन्छ । समयमै या पहिलो चरणमै यसको सही उपचार भयो भने यो छोटो समय मै पूर्ण ठीक हुनसक्छ । चकित्सको सल्लाहा बमोजिम भनेको मान्यो साबधानी अप्नायो भने बच्चाले सहज जीवनयापन जीउन सक्छ ।

यसको बेलैमा उपचार गरिएन भने अन्य अंगमा के कस्तो असर गर्छ ?
यसको संक्रमण बढ्दै गयो भने कलेजो,फियो सुन्निने,कहिलेकाही बोन म्यारोमा फैलने,मस्तिष्क या ढाडमा समेत फैलन सक्छ र मृत्युसमेत हुने गर्दछ ।

यसको उपचार विधि के कस्तो हुन्छ ?
लिम्फोमा कुन अवस्थामा पुगेको छ सोही अनुसार यसको उपचार विधि निर्धारण हुन्छ ।पहिलो, दोस्रो चरणमा छ भने करिब तीन हप्ता औषधि चलायो भने पूर्ण ठीक हुन्छ । भने तेस्रो चरणमा छ भने कुनैमा ५ हप्तासम्म पनि चलाउनु पर्ने हुन सक्छ ।चौथो पाचौं चरणमा पुगेको छ भने कडा उपचार गर्नु पर्ने हुन सक्छ यो अवस्थामा पुगेका बिरामी ५० प्रतिशत मात्र बाच्ने संभावना रहन्छ तर जति पछि उपचार गर्यो उती ढीला, अप्ठ्यारो,महंगो पर्न सक्छ र दोहोरीने संभावना पनि बढी रहन्छ ।

यसबाट बच्न के गनुृपर्छ ?
यही कुरामा सावधानी अप्नायो भने यस्तो क्यान्सरबाट बच्न सकिन्छ भन्ने हैन तर यो बाट बच्न गर्भावस्थामा जथाभावी औषधिको सेवन नगर्ने ।
यदि आफ्ना अग्रज कसैलाई यस्तो समस्या छ भने या माथिका कुनै पनि लक्षण देखियो भने तुरुन्त विशेषज्ञकोमा स्वास्थ परीक्षण गर्नुपर्छ । यसको उपचार महंगो भएकाले पनि पहिलो सुरुवाती चरण वा पहिलो दोस्रो चरणमा हुँदै उपचार गरायो भने पूर्ण निको हुन्छ ।

चिसाेबाट यसरी जाेगाउनुस् शिशुलाई

चिसो बढेसँगै बालबालिका बिरामी हुने क्रम पनि बढ्छ । जाडो मौसममा बालबालिकालाई कसरी जोगाउने भन्ने विषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. सर्वेश कुमार दाससँग गरिएको कुराकानीको अंश:

मंसिर महिनाको उत्तरार्धतिर आइपुग्दा चिसो ह्वात्तै बढेको छ। अत्यधिक चिसो हुने पुस माघ त बाँकी नै छ। जाडोमा विशेषगरी नवजात शिशु र साना साना बालबालिकालाई जोगाउने चुनौती अभिभावकसामु हुन्छ। चिसोयाममा सानो हेलचेक्रयाइँका कारण बालबालिकाको स्वास्थ्यमा ठूलो समस्या आउनसक्छ। उनीहरूलाई न्यानो पार्ने प्रक्रिया नमिल्दा वा बेवास्ताका कारण उनीहरूको शरीरको तापक्रम न्यून हुन पुग्छ। चिसोका कारण उनीहरूलाई ‘हाइपोथर्मिया’ हुन सक्छ। हाइपोथर्मिया भयो भने बच्चाको शरीर छाम्दा चिसो महशुस हुन्छ।

शरीर अत्यधिक चिसो भएकै कारणले गर्दा बच्चाहरूमा इन्फेक्सनको समस्या देखिन्छ। रुघाखोकीदेखि निमोनिया, ब्रोन्काइटिसजस्ता जटिल समस्या आउन सक्छन्। यस्ता समस्याले बालबालिकालाई श्वास फेर्न गाह्रो हुन्छ। चिसोबाट जोगाउन नसक्दा उनीहरूको ओठ र हातगोडा निलो देखिन्छ। खाना खुवाउँदा खान नमान्ने र बान्ता गर्ने गर्छन्।

उपचार

सामान्यतया नवजात शिशुहरूको रोग पत्ता लगाउन कठिन हुन्छ, चिकित्सकहरूलाई। ठूला बच्चाहरूलाई अलि सहज हुन्छ। चिसोबाट उत्पन्न सामान्य समस्या भए ठूला बालबालिकालाई घरमै पनि औषधि दिएर उपचार गर्न सकिन्छ। शिशुमा त्यो सम्भव हुँदैन। अस्पताल नै लग्नुपर्छ। निमोनिया, सेप्सिस इन्फेक्सन र ब्रोन्काइटिसजस्ता समस्या देखिए उनीहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।

जोगाउने उपाय

नवजात शिशु होस् या अलि ठूला बालबालिका उनीहरूलाई स्वास्थ्यसम्बन्धी समस्याबाट जोगाउने दायित्व र भूमिका आमाबुबाकै हुन्छ। चिसोको सन्दर्भमा पनि शिशुलाई समयमा दूध खुवाउने, सफा राख्ने, न्यानो कपडा लगाइदिने र कोठाको तापक्रम मिलाएर राख्ने जस्ता दायित्व अभिभावककै हुन्। तर न्यानो पार्ने नाममा शिशुलाई बढी कपडा लगाइदिँदा पसिना आउनसक्छ। पसिनाकै कारण चिसाे भएर निमोनिया हुने खतरातर्फ पनि ध्यान दिनुपर्छ।

अलि ठूला बच्चा भए समयमा पौष्टिक खानेकुरा खुवाउने, न्यानो कपडा लगाइदिने र बाहिर चिसोमा खेल्न नदिनेजस्ता काम गर्नुपर्छ।
विशेषगरी नवजात शिशुलाई हेर्न आफन्त र पाहुनाको लर्को लाग्छ। त्यो वेला उनीहरूमा भएको रुघाखोकी जस्ता संक्रमणले बालकलाई नभेटोस् भनेर सतर्कता अपनाउनुपर्छ। बच्चाहरूलाई बाहिर लिएर हिँड्दा विशेषगरी हावाको प्रत्यक्ष प्रभाव पर्नेगरी दुईपाङ्ग्रे सवारीसाधनमा जानुहुँदैन।

‘नर्सलाई हेर्ने समाजकाे दृष्टिकाेण बदलिएकाे छ’

३० वर्षदेखि नर्सिङ पेशामा रहेकी दिलकुमारी गुरुङ हाल काठमाडौंको ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छिन्। उनै नर्स दिलकुमारीका कुरा यो पटकको नर्सका कुरामा–

मैले नर्सिङ पेशा शुरु गरेको ३० वर्षभन्दा बढी भइसकेको छ। नेपाल प्रहरीमा ३० वर्ष सेवा गरी ‘रिटायर्ड’ भएकी हुँ। केही महिनादेखि ईशान बाल तथा महिला अस्पतालमा मेट्रोन छु।

सानै उमेरदेखि अरुको सेवा गर्ने, बिरामी र अशक्तहरूको सेवा गर्ने इच्छा पलाउँथ्यो ममा। कोही दुःखमा परेको मानिस देखे कसरी सेवा गर्ने होला भन्ने कुरा मनमा खेलिरहन्थ्यो। तर कसरी सेवा गर्ने भन्ने कुनै ‘आइडिया’ थिएन।

सानैदेखि देखेको सपना पूरा गर्ने माध्यम मेरै बुबा बन्नुभयो। बुबा भारतीय सेनामा काम गर्नुहुन्थ्यो। म सानै छँदा लडाइँकै क्रममा एकपटक बुबालाई ठूलो चोट लाग्यो। शल्यक्रियापश्चात् पनि निकै महिना अस्पताल बस्नुपर्ने भयो। त्यसबेला अस्पतालमा बस्दा नर्सहरुले गरेको सेवा देखेर बुबालाई छोरीलाई पनि यस्तै बनाउँछु भन्ने सोच आएछ।

पछि उहाँले नै मलाई नर्स पढ्न प्रेरणा दिनुभयो। त्यसैले बुबाकै कारण म आज यो पेशामा छु। बुबाको रोजाइ भए पनि बिस्तारै यो पेशा मेरो पनि रोजाइ बन्दै गयो। यसमै रमाएँ।

पीसीएल लेभलको पढाइ सकेलगत्तै प्रहरी अस्पतालमा नर्स मागेको थियो निवेदन दिएँ। पास पनि भएँ। त्यसबेला अहिले जस्तो धेरै नर्स उत्पादन हुँदैनथे। जागिरका लागि अलि सजिलो नै थियो।

जागिरे त भएँ। प्रहरी अस्पतालमा काम गर्न निकै कठिन हुन्थ्यो। शुरु शुरुमा निकै गाह्रो भयो। संगठनको कडा नियम कानुनमा बाँधिन साह्रै गाह्राे । तर पछि बिस्तारै बानी पर्दै गयो।

अहिले त्यहाँबाट रिटायर्ड भएपछि मैले ईशान बाल अस्पताल रोजेँ। यसको पनि कारण छ। मलाई बच्चाहरूको सेवा गर्न निकै आनन्द लाग्छ। अबको समय बालबालिकाको सेवामा समर्पित गर्ने विचार छ।

यो अस्पताल प्रहरी अस्पतालभन्दा पक्कै धेरै हिसाबमा फरक छ। यहाँ स–साना बालबालिका विभिन्न प्रकारका रोग लिएर आउँछन्। कोही त आफ्नो समस्या समेत भन्न नसक्ने अवस्थाका हुन्छन्।

उनीहरूको लक्षण हेरेर उपचार गर्नुपर्छ। त्यसैले पनि काम एउटै भए पनि तरिका फरक छ। ईशान बच्चाहरुको लागि विशिष्टीकृत अस्पताल हो। यहाँ विशेष उपचार हुन्छ। म अब यी स–साना बालबालिकाको मुहारमा मुस्कान देखेर रमाउन थालेकी छु। यसको छुट्टै सन्तुष्टि छ।

अहिले नर्सिङ क्षेत्रमा धेरै चुनौती छन्। धेरै प्राइभेट अस्पतालले नर्सलाई कम तलब दिएर उनीहरूको श्रमशोषण गरिहेका छन्। बिरामी धेरै नर्स थोरै हुँदा समस्या हुन्छ। अनि गाली नर्सले खानुपर्छ।

यस्ता कुराहरूले अलिकति नरमाइलो त लाग्छ नै, तर समाजमा नर्सलाई हेर्ने दृष्टिकोण भनें बदलिँदै गएको छ। हामीले पढ्ने बेलासम्म धेरैले नर्स बनेकी भनेर कुरा काट्थे। तर अहिले यो सम्मानित पेशा मानिन्छ। यो देखेर मलाई खुशी लाग्छ।

प्रस्तुती:  अशिम सापकोटा

Quick Enquiry Get an Appointment